हराउँदै गए ठेट नेपाली लोकभाका
गायक नवराज घोरासैनीले काँठे भाकामा गाएका धेरै लोकगीतहरु निक्कै चल्थे
कुनै समयमा । एक समय काठेभाकाका गीतहरुको राम्रो बजार थियो । तर केहि
बर्षयता यस्ता भाका सुनिन छोडेका छन् ।
काठमाण्डू उपत्यका र आसपासका जिल्लाका ठेट लोकगीत काँठेभाका भनेर
चिनिन्छन् । तर झण्डै तीन बर्ष भयो काँठेगीत खासै रेकर्ड भएका छैनन् ।
त्यसको ठाउँ पश्चिमी लोकदोहोरीले ओगटेको छ । कुमार बस्नेत, नवराज घोरासैनी,
राम थापा शिशिर, रेशम थापा, घमेश दुलालले काँठे भाका धेरै गाए । तर अहिले
उनीहरु हराएका छन् । नयाँ कलाकारले त्यसलाई टिपेनन्, त्यसैले काँठेभाका लोप
हुँदैछ ।
काँठेभाका मात्रै होईन, अहिले अरु पनि धेरै भाका हराउँदै गएका छन् । पूर्वको हाक्पारे, पालम, पश्चिमको सालैजो, यानिमाया, सुनिमाया, अविजालेमाया, गल्लालाहुरे, बालन, कौडा र सुदूरपश्चिमको, देउडा र ठाडी भाका हिजोआज उती रेकर्ड हुन्नन् । व्यवसायिक हिसावले धेरै फाइदा नहुने भएपछि यस्ता भाकाका धेरैको मोह घटेको विश्लेषण छ देउडा गायक नन्दकृष्ण जोशीको ।
यस्ता ठेटभाकामा धेरैजसो गीत रेडियो नेपालमा रेकर्ड भएका छन् तर अहिले
रेडियो नेपालले समेत यस्ता गीत रेकर्ड गर्न उति जाँगर देखाउँदैन । क्यासेट
र सिडीको बजार सेलाएपछि यस्ता पुराना भाका हराउन थाले । ‘अहिले लोकगीतमा
नाममा बजारमा आएका गीतमा लोकगीतको कुनै छनक देखिदैन’ लोककवि तुलसी दिवशले बताउनुभयो ।
बिभिन्न चाडपर्व र रिति रिवाजसँग जोडिएका अरु धेरै मौलिक भाका लोप हुँदैछन् । त्यसैले यस्ता गीत र भाकाको संरक्षणको लागि राज्यले संग्रहालय बताउनुपर्ने माग अहिले धेरै स्रष्टा सर्जकको छ ।