दुई करोड तिर `भैरव`

‘भैरव’ले पत्रकार तथा फिल्मकर्मीलाई बुधबार गोपीकृष्ण हलमा फिल्म देखाएको थियो । फिल्म हेर्न पुगेका फिल्मकर्मीले फिल्मले उठाएको विषयवस्तु र फिल्मको द्धन्द्धको पाटोलाई विशेष मनपराएका थिए । करिब ५ वर्षपछि अभिनयमा फर्केका निखिलको यो फिल्मले तराईमा हुने हात हतियारको तस्करी विरुद्ध लड्ने पुलिस इन्स्पेक्टरको कथा पेश गरेको छ । फिल्मले राजनीतिको आडमा हुने कालो व्यापार र राजनीतिका नाममा जातिय सद्भाव बिथोल्ने तत्वलाई पनि समेटेको छ ।
अभिनयसँगै लेखन र निर्देशन समेत निखिलले नै गरेको यो फिल्ममा अनु शाह र मुरलीधर महत्वपूर्ण भूमिकामा छन् । फिल्म हेरेका फिल्मकर्मीले निखिलसँगै मुरलीधरको पनि तारिफ गरेका थिए । फिल्म भित्र अनु शाह भने सानो भूमिकामा छिन् । मधेशको विषयवस्तु उठाएकाले फिल्मले तराईमा भने रिलिज अनुमति पाएको छैन ।