Breaking News

सुदर्शन गौतमलाई १५ दिने अल्टिमेटम

६ असार २०७२, काठमाण्डौ । सामान्य गसिप लेखेकै भरमा फिल्मीबजार डटकमका सम्पादकलाई अमेरिका बाट ज्यान मार्ने धम्की दिएका कलाकार सुदर्शन गौतमको अमानवीय कदमप्रति चलचित्र पत्रकार संघले खेद ब्यक्त गरेको छ ।


संघका महासचिव सन्दिप सापकोटाद्वारा जारी बक्तब्यमा समाचार लेखेकै भरमा ज्यान मार्ने धम्की दिएकोप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘भूकम्प पीडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार’ शिर्षकमा फिल्मीबजार डट कममा प्रकाशित गरिएको गसिपकै आधारमा सुदर्शन गौतमले पत्रकार गिरीलाई मारेर फाल्ने भनी अश्लिल शब्द बोल्दै धम्की दिएको, समाचार संस्था एवं समाचार तथा संचारकर्मीमाथि धावा बोलेको, पटक-पटक चलचित्र पत्रकार संघको नाम समेत उल्लेख गरी संघको सदस्यबाट समेत  निश्काशन गरिदिने भनी गैरकानुनी शब्द बोलेको र व्यवहार देखाएको जस्ता कारणले उनको गल्ती अक्षम्य मान्दै चलचित्र पत्रकार संघले सुदर्शन गौतमप्रति खेद व्यक्त गरेको छ ।


ज्यान मार्ने धम्की दिने गौतमलाई संघले १५ दिने लामो अल्टिमेटम दिएको छ । यो अल्टिमेटम अहिले सम्मकै लामो अवधिको समय हो । माफी माग्ने अल्टिमेटम सामान्यतय १२ देखि २४ घण्टा हो यद्दपी यसअघि प्रियंका कार्कीलाई ७ दिने अल्टिमेटम दिएको थियो । समाचारमा चित्त नबुझेमा कानुनी प्रकृया हुदाहुदै गौतमले कानुनकै उल्लङ्घन गरेकामा उनलाई माफी माग्न अल्टिमेटम दिइएको छ । सामाजिक प्रतिष्ठा समेत प्राप्त व्यक्ति सुदर्शन गौतमबाट यस्तो प्रकृया अपनाइनु निर्लज्जताको पराकाष्ठा समेत भएको संघको ठहर छ ।

संघले दिएको अल्टिमेटम भित्र उनले आफ्ना शब्द फिर्ता लिई माफी नमागेमा उनलाई वहिस्कार गरिने संघ द्वारा जारी बिज्ञप्तिमा जनाइएको छ । उनलाई यथाशीघ्र माफि मागी प्रेसको मर्यादा राख्न र पत्रकार माथिको सम्मान कायम गर्न गौतमलाई संघले सचेत गराएको छ ।

चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बसेको बैठकले यस किसिमको निर्णय गरेको हो ।