Breaking News

मिडियाका कारण ‘जोगी’ हुँदै छन् म्यूजिक व्यवसायीहरु

नेपाल टेलिभिजनलगायत अन्य टेलिभिजनमा बिहान बिहान मज्जाले गीतसंगीतका प्रोमो देख्न पाइन्छ । दर्शकलाई लाग्दो हो, टिभीहरुले गीतसंगीत बजाइ रहेका छन् । तर कुराको चुरो भने बेग्लै छ । यसरी टेलिभिजनमा आइरहने गीतका प्रोमो बजाए वापत म्यूजिक व्यवसायीले टेलिभिजनहरुलाई चर्को शुल्क तिर्दै आएका छन् । बजार राम्रो छैन तैपनि व्यवसायीहरु मिडियामा चर्को शुल्क तिरेर गीत देखाइरहेका छन् ।


यसबाट कुनै कम्पनि पनि फाइदामा छैनन् । सामान्य समयमा प्रसारण हुने कार्यक्रमदेखि ‘प्राइम टाइम’ नामले परिचित समयमा आउने कार्यक्रममा म्यूजिक व्यवसायीले चर्को शुल्क खर्चिदै आएका छन् । नाफा त टाढाको कुरा प्रोमो बजाएको खर्च समेत उठाउँदैनन अचेल गीतले । अस्तित्व जोगाई राख्न कलाकार, कम्पनिले महंगो दरमा गीतको प्रचार गर्दै आएका हुन् । नेपाल टेलिभिजनमा बिहान साढे सात बजे प्रसारण हुने कार्यक्रममा १ मिनेटको प्रोमो बजाए वापत म्यूजिक कम्पनिले झण्डै ४५ हजार तिर्ने गरेका छन् । त्यस्तै एनटिभी प्लसको ‘टी टाइम’मा बजाउँदा १२ हजार छ भने, एनटिभीकै बिहान ९ बजेपछि आउने सांगीतिक कार्यक्रममा बजाउन २५ हजार रुपैया व्यवसायीले तिर्दै आएका छन् । व्यवसायीको कमाई भनेको सिआरविटी र पिआरविटी मात्रै हो । यो खर्च सिआरविटी र पिआरविटीले धान्न छोडेको धेरै भइसक्यो ।

तर पनि एउटै टेलिभिजनमा आउने फरक फरक कार्यक्रममा व्यवसायीले गीत देखाउन छाडेका छैनन् । बिहान साढे ९ बजेको कार्यक्रममा १५ हजार रुपैया मिनेट र , बेलुका साढे सात बजेको समयमा आउने कार्यक्रममा २० हजार तिर्दै आएका छन् । अस्वस्थ प्रतिस्पर्धाले व्यवसायीहरु धरासायी बन्दै गएका हुन् । एउटा गीत चलाउन अर्थात सिआरविटीको टप टेनमा ल्याउन न्यूनतम एक महिना यी सवै कार्यक्रममा गीत बजाउनै पर्छ । यसरी बजाउदा मासिक लाख भन्दा धेरै खर्च हुन्छ व्यवसायीको । तर सिआरविटीले त्यो खर्च नधानेको धेरै भयो । त्यसैमाथि आफै रिचार्ज कार्ड किनेर गरिने ‘प्रर्चेज’ले कलाकार र कम्पनिको टाउकोमा ऋणको भारी थोपरिने संभावना उत्तिकै छ ।

संगीत उत्पादक समाजका अध्यक्ष तथा म्यूजिक व्यवसायी पदमबहादुर बुढा टेन्डर मार्फत मिडिया हात पार्ने लफडाले समस्या थपेको बताउँछन् । बुढा भन्छन्‘ टेण्डर हात पारेर यस्ता कार्यक्रम चलाउनेलाई त फाइदै भए होला तर म्यूजिक व्यवसायी भने घाटामा छन् । ’ नेपाल टेलिभिजन मात्रै नभई काठमाण्डूबाट संचालनमा आएका सवै टेलिभिजनले प्रोमो बजाउने कार्यक्रम संचालन गर्दै आएका छन् । ती सवैमा प्रायः सवै व्यवसायीले बिज्ञापन गर्दै आएका छन् ।

गएको आर्थिक बर्षमा नेपाली संगीत क्षेत्रको झण्डै ७ करोड मिडियामा खर्च भएको छ । तर समग्र आम्दानी भने तीन करोड पनि पुगेको छैन् । यसले यो क्षेत्र बर्षेनी ३ करोड घाटामा गइरहेको छ भन्ने प्रष्टयाउँछ । मिडिया खर्च महंगो भयो भन्दै गत बर्ष तत्कालिन संगीत उद्योग संघका अध्यक्ष पदमबहादुर बुढाको नेतृत्वमा नेपाल टेलिभिजनले खुलाएको टेण्डर बहिस्कार समेत भएको थियो । लतखतर अहिले साथीहरु टेण्डर हात पार्न दौडधुपमा उत्रिएका छन बुढाले नेपाली कलालाई भने । तर बिन्ध्यबासिनी म्यूजिकका निर्देशक सुवास रेग्मी भने कम्पनि घाटामा नगएको दावी गर्छन् । रेग्मीका अनुसार झोले कम्पनि होलान् घाटमा गएका नत्र सवै चलेकै छन् ।