Breaking News

मेरो कपडामा अरुको टाउको दुखाई किन

गायिका, ज्योती मगर अहिले चर्चामा छिन् । दमदार स्टेज प्रस्तुतीसँगै उनले लगाउँने छोटो कपडाको चर्चा उत्तिकै छ । एक टेलिभिजन कार्यक्रममा वक्षस्थल देखिने गरी कपडा लगाएर अन्तरवार्ता दिएको भन्दै अन्तरवार्ता प्रशारण समेत रोक लगाइएको थियो । तिनै मगरसँग नयाँ पेजका लागि देविका घर्तीमगरले गरेको कुराकानी : 
देश विदेश त निक्कै घुम्नुहुन्छ, कत्तिको पैसा कमाउनुहुन्छ ? 
घुमिरहेकी छु । देश विदेशमा रहनुभएका मेरा दर्शकले मलाई माया गरेर बोलाउनु हुन्छ । कमाई अलिअलि भए पनि खर्च धेरै भएका कारण बचाउन सकिएको छैन । 
नयाँ कस्तो गीत बजारमा ल्याउदै हुनुहुन्छ ? 
पशुपति शर्मासँग मिलेर ‘रोइला’ गीत त्याउने तयारी गर्दै छु । चाँडै बजारमा आउछ । मेरो ‘सोलो’ एल्बम पनि छिट्टै बजारमा अउँदैछ । जसमा, तीन ओटा आईट र तीन ओटा लोकगीत समेटिएका छन् । सबै गीत फ्यूजन नै हुन् । पहिला भन्दा अलिकति नयाँ गर्न खोजेकी छु । ‘जाली रुमाल’ बोलको गीतको काम अन्तिम–अन्तिम चरणमा छ । अब छिट्टै अन्य गीत पनि पुरा हुँदैछन् । २०७२ सालको वैशाख, जेठसम्ममा भिडियोसहितको एल्बम बजारमा आइसक्छ । 

छोटो कपडाप्रतिको मोह चाहिँ किन धेरै ?
मलाई छोटो राम्रो लाग्छ । आकर्षक देखिनलाई लुगा लगाउने हो । मौसम अनुसार लगाउने गर्छु । जाडोमा छोटो लगाउने कुरा भएन । आकर्षक देखिने कपडा बढी लगाउने गर्छु । ‘मेरो कपडामा अरुको टाउको दुखाई किन ? 
लोक गायिकाले छोटो कपडा लगाइन भनेर, सामाजिक सञ्जालमा तपाईको विरोध धेरै हुन्छ नि ? 
विरोध गर्न पाइन्छ । त्यो मैले पनि ‘फिल’ गरेकी छु । तर, जसले कमेन्ट गरेको गर्नुहुन्छ उहाँहरु मेरा असली ‘फ्यान’ हुनुहुन्छ । हामी नेपालीलाई जुन कुरा मनपर्छ त्यसकैको बढी ‘कमेन्ट’ गर्छौ । सामाजिक सञ्जालमा उहाँहरुले मलाई बढी खोज्नुहुन्छ, हेर्नुहुन्छ, अनी ‘कमेन्ट’ गर्नुहुन्छ । गाली गर्ने नेपालीको बानी हो । राम्रा कुरालाई पनि कुनै न कुनै कोणबाट गाली गर्ने बानी छ । तर, मैले यसलाई सकारात्मक रुपमा लिएकी छु । 
प्रेममा पर्नु भएको छ ? 
‘अफकोर्स’ प्रेममा परेकी छु । यो उमेरमा आएर पनि पे्रममा परेकी छैन भन्नु चाहिँ लाजमर्दो कुरा हो । तर कोसँग भनेर चाहिँ सार्वजनिक गर्दिन । 
कहिले बिहे गर्ने सोचमा हुनुहुँन्छ ? 
त्यो हेरौँ, कहिले हुन्छ ? कोसँग हुन्छ ? 
ज्योती मगर बारम्बार मिडियामा छाइरहनुको कारण ? 
 अ….‘आई थिङ्क’, सबैभन्दा बढी कुरा काटिने सेलिब्रीटी कै हो । फेरी मिडियाले पनि राम्रो भन्दा, नराम्रो कुरा खोजी गर्छन् । नराम्रो लेख्दा ‘भ्यूअर’ बढी हुन्छन् भनेर मेरो बारेमा नराम्रो कुरा खोजी खोजी मिडियाले बढी लेख्छन् । 
छोटो कपडा नलगाऊ भनेर कसैले सुझाव दिदैनन् ? 
त्यो, ५०/५० प्रतिशत नै छ । कसैले यो नै तिम्रो परिचय हो, तिमीलाई यही सुहाउछ, त्यही भएर छोटो कपडा लगाऊ भन्नुहुन्छ । कसैले यो राम्रो भएन, यसलाई सुधार गर्नुपर्छ पनि भन्नुहुन्छ । 
चर्चामा आउन ज्योती मगर, जे पनि गर्छे भनिन्छ नि ? 
त्यो, सत प्रतिशत गलत हो । किन गलत हो भने अहिलेसम्म मलाई ‘यो गरेपछि यस्तो हुन्छ’ भन्ने थाहा छ । म चर्चामा आइरहनुको कारण मैले गर्ने ड्रेसअप, मेरो प्रस्तुति र व्यस्तता हो । यसलाई राम्रो रूपमा लिने एकखालको जमात छ । तिनिहरुले जहिले पनि मलाई खोज्ने, बुझ्ने र बाहिर ल्याउने काम गरिरहेका हुन्छन् । त्यसलाई मैले गरेको हर्कत भन्न मिलेन नि ! 
तपाईको गीतको शब्द, म्यूजिक भिडियोमा नृत्य तथा अभिनय र स्टेजको प्रस्तुति हेर्दा तपाईले आफ्नो कलालाई अलि बढी नै ग्ल्यामरस बनाएको देखिन्छ, किन त्यसो गर्नुहुन्छ ? 
मेरा गीतको लय, शब्द र भिडियोमा अलि बढी ग्ल्यामर हुन्छ । मलाई समय भन्दा ठुलो केही लाग्दैन । म, समय बुझेर समयसँग हिड्न खोज्ने मान्छे हो । यो समय भनेको २१ औं शताब्दी हो । प्राक्टिकलको जमाना हो । अरूको कुरामा कमेन्ट गरेर बस्ने जमाना होइन । मेरा गीतमा बढी ग्ल्यामर हुँदा पब्लिकले मन पराउनुहुन्छ । मेरा गीतमा अरूलाई किन टाउँको दुखाई ? अर्को कुरा जसले मेरा गीत सुन्नुहुन्छ, मेरो बारेमा हरेक जानकारी राख्नुहुन्छ र मलाई साँच्चिकै माया गर्ने फ्यान हुनुहुन्छ भने उहाँले गरेको कमेन्टलाई म मान्छु । तर, हावाको भरमा ‘आदर्शवादी’ कमेन्ट गर्नेलाई म, मान्दिन । 

गीत गाएर बाँच्न सकिन्छ ? 
अ….बाँच्न सकिन्छ । मान्छे बाटोमा मकै पोलेर, पानीपुरी बेचेर त बाँचीरहेका छन् । हामी त सरस्वतीले दिएको कला बोकेका कलाकार हौँ । कला बेचेर हिँड्ने मान्छे किन बाँच्न नसक्नु ? घर, गाडी, डिजाइनका ड्रेसअप जोहो गर्न नसकिएला तर साधारण रुपमा बाँच्न सकिन्छ । 
तपाई आफुलाई कत्तिको सफल मान्नुहुन्छ ? 
जब चितामा पुग्छ, तब मात्र मान्छे सफल हुन्छ । बाँचुञ्जेल हरेक दिन, हरेक पल संघर्ष गरिरहनु पर्छ । मान्छे बाँचुञ्जेल सन्तुष्ट चाहिँ हुँदैन ।
श्रोत: नया पेज