Breaking News

रिलमा फापेको नारी रियल लाईफमा फापेन

चलचित्र ‘युगदेखि युगसम्म’ निर्माण गरि चलचित्रमा हात हालेका पुराना निर्माता छविराज ओझा २५ वर्ष देखि निरन्तर रुपमा चलचित्र निर्माणमा छन् । निर्माता ओझाले २५ बर्षको अबधिमा २० चलचित्र निर्माण गरिसकेका छन् । जसमध्ये पूर्वपत्नी रेखा थापा संग १३ र एकल ७ चलचित्र छन् । उनले यो अबधीमा अभिनेता राजेश हमाल,स्वर्गीय श्रीकृष्ण श्रेष्ठ,अहिलेकी चर्चित अभिनेत्री रेखा थापा,बिपना थापा,आर्यन सिग्देल,सबिन श्रेष्ठ,किशोर खतिवडा,निर्देशक सबिर श्रेष्ठ, रजनी केसी सहित अहिलेकी चलेकी अनुहार शिल्पा पोख्रेल सहितका कलाकार तथा धेरै चलचित्रकर्मी जन्माएका छन् । चलचित्र निर्माणमा बेग्लै पहिचान बनाइसकेका निर्माता छविराज ओझा पछिल्लो समय चलचित्र ‘हवल्दार सुन्तली’को प्रमोसनमा ब्यस्त छन् । यसै सन्दर्भमा फिल्मीबजार डटकमले ‘हवल्दार सुन्तली’को सेरोफेरोमा रहेर गरेको अन्तरंग कुराकानीको सम्पादित अंश प्रस्तुत छ । 

*’हवल्दार सुन्तली’ बाट कस्तो प्रतिकृया पाउनु भएको छ ? 
फिल्म रिलिजको पूर्व सन्ध्यामा छ । अहिले सम्म राम्रो प्रतिकृया पाएको छु,सबैले साथ र सहयोग गरिरहनु भएको छ । फिल्मका दुइ गीत अहिले चर्चामा छ । 

*फिल्म बारे केहि जानकारी गराउनुस न । 
फिल्म पूर्णरुपमा नारी प्रधान नै हो । यस फिल्ममा बिशेष गरी प्रहरी प्रशासन भित्रका कुरा जस्तो कि हवल्दार सुन्तली धामी माथि आफ्नै सहकर्मी माथि भएको बलात्कार काण्ड र सडक बालबालिका संग सम्बन्धित छ । यथार्थपरक र समसामायिक बिषय हो भन्ने बुझाइ हो । फिल्म शसक्त बनेको छ,अरु अब चैत्र २७ पछि नै फिल्मले बताउछ । 

*नारी प्रधान प्रतिको झुकाब किन ? 
 चलचित्र निर्माणमा म नारीप्रधानमा झुकाब छु । तर वास्तविक जीवनमा नारी मलाई फापेन । चलचित्र निर्माणमा सुरु देखि नै नारी प्रधान छु । बिचमा पुरुष प्रधान चलचित्र ‘लोफ़र’पनि बनाए तर ‘लोफ़र’ चलेन । त्यसपछि पुरुष प्रधान प्रतिको निर्माणमा मलाई चासो छैन । ‘लोफ़र’ पछी बनाएको ‘लज्जा’ सफल भयो र मलाई नारी प्रधान चलचित्र फाप्छ पनि ‘हवल्दार सुन्तली’ पनि सफल हुनेमा ढुक्क छु । 

*चलचित्र नचलिरहेको अबस्थामा ढुक्क कसरी ? 
म चलचित्रको खेती गर्ने निर्माता हु, दन्दकालमा पनि फिल्म बनाएर दिएको छु । अर्को कुरा मलाई मेरो काम प्रति विश्वाश छ । देशको असहज परिस्थति र फिल्म नचल्दा पनि मेरो फिल्म चलेको छ । अहिलेका दर्शकहरुले ब्यानर र ब्यक्ती बिशेस हेर पनि फिल्म हेर्न हल सम्म जाने गरेका छन् । दर्शकहरु फिल्म मनोरंजनका लागि हेर्न जानु हुन्छ,मनोरंजन दिन सक्नु पर्छ जुन कुरा म दिन सक्छु । फिल्मले रोनाधोना र तनाब दिने काम गर्‍यो भने फिल्म असफल हुन्छ । 

*अहिलेको फिल्मी बजारलाई कसरी मुल्याकंन गर्नुभएको छ ? 
त्यहि नै हो,राम्रो मानिएका फिल्म चल्न सकिरहेको छैन । बजार खस्कदै छ तर पनि दर्शकको चाहना अनुसार फिल्म बनाउने हो भने फिल्म शतप्रतिशत चल्छ । नेपाली फिल्मको दर्शक हुनुहुन्छ मात्र दर्शकको माग,चाहना र रुचीलाई समय सापेक्ष बुझ्न सक्नुपर्छ । अहिले चलचित्र निती र बर्गिकरणका कुरा आएका छन् संभवत अब राम्रो होला । 

*फिल्मको गुणस्तरीयताले कत्तिको असर गर्छ ? 
फिल्म चल्ने नचल्ने भन्ने कुरा नै फिल्मको गुणस्तरीयताले निर्धारण गर्ने कुरा हो । यसर्थ स्तरीयतामा ध्यान त दिने पर्छ । नेपाली फिल्मको बजार खस्कनुमा मुख्य कारण तत्व नै सी ग्रेडका फिल्म हुन् । जसले गर्दा दर्शक भड्किएको अबस्था छ । 

*‘हवल्दार सुन्तली’को सवल र कमजोर पक्ष के हुन् ? 
फिल्मको सवल पक्ष स्क्रिप्ट नै हो । छायांकन पूर्व जस्तो स्क्रिप्ट थियो,स्पटमा गए पछी झनै राम्रो बन्यो अरुको जस्तो छायांकन पूर्वको स्क्रिप्ट स्पटमा गएपछी बिग्रेको जस्तो चाही भएन । निर्देशकको प्रस्तुतीकरण र कलाकारको अभिनय फिल्मका सवल पक्षमा पर्छन् ।त्यसै गरी सांगीतिक पक्ष पनि बलियो छ । कमजोर पक्ष त खासै केहि देख्दिन । 

*निर्मातालाई उत्कृष्ट लागेको अंश के छ ? 
मेरो नजरमा सबै भन्दा मन परेको अंश सुन्तली धामी बलात्कृतको दृष्य हो । बलात्कार आफैमा गलत काम हो,सबैले इन्कार गर्ने घृणित काम हो,जुन दृष्यलाई समेत सेन्सरले कैची चलाउदै आएको छ तर यो दृष्यलाई सेन्सरले कैची चलाएन किनकि प्रस्तुती करणमा फरकपन छ । उक्त दृश्यले पिडा बोध जनाउछ मलाई त्यो दृष्य उत्कृष्ट लागेको छ । 

*अन्त्यमा दर्शकका लागि संदेश के दिनुहुन्छ ? 
सर्बप्रथम त आउदै गरेको नयाँ वर्षको समस्त दर्शक तथा नेपालीमा शुभकामना दिन चाहन्छु । मेरो २० औ नारी प्रधान फिल्म ‘हवल्दार सुन्तली’ दर्शक माझ ल्याउदै छु । एक पटक चलचित्र घर सम्म पुगेर फिल्म हेरिदिनु होला । राम्रा नेपाली फिल्मलाई माया गरिदिनु होला ।